जयप्रकाश मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध तथा कान्तिपुरका (काठमाडौँका) अन्तिम मल्ल राजा थिए। जयप्रकाश मल्ल साहसी र वीर राजा थिए, तर शंकाधारी र क्रोधी पनि थिए। आफ्नो शासनकालको अधिकांश समय उनले भाइ-भारदार तथा बाह्य चुनौतीको सामना तथा शक्तिसङ्घर्षमा विताउनु पर्यो।
आफ्ना पिता राजा जगज्जय मल्लका राजेन्द्रप्रकाश, जयप्रकाश, राज्यप्रकाश, नरेन्द्रप्रकाश, चन्द्रप्रकाश छोराहरू मध्य माहिला छोराका रूपमा जन्मिएका जयप्रकाश मल्ल आफ्ना दाजुको राजेन्द्रप्रकाश अल्पायुमै निधन भएपछि मात्र युवराज घोषित भएका थिए। त्यही कारणले उनलाई उनकै कतिपय भारदारले समेत राजाका रूपमा स्वीकार गरेनन्।
शासन काल तथा सङ्घर्ष
राजा जगज्ज्य मल्लको वि सं १७९२ (नेपाल सम्वत् ८५५ फागुन वदी ६ मा मा मृत्यु भए पछि उनका छोरा जयप्रकाश मल्ल राजा भए। तर परिस्थिति उनको अनुकुल भएन।
अङ्ग्रेज सँग सहयोग माग
किर्तिपुर गोर्खाको कब्जामा पर्न गएपछि निकट भविष्यमै उपत्यकामा गोर्खाली आक्रमणको ठुलो सम्भावना भएकाले जयप्रकाश मल्लले ललितपुर र भक्तपुरका राजाहरूसंग वैठक गरी गोर्खा सैनिकको विरुद्ध सशक्त सैनिक अभियान गर्नुपर्ने विचार व्यक्त गरेका थिए। तर पाटन र भक्तपुरका राजाले अनुकुल प्रतिक्रिया नजनाएकाको र गोर्खालीको पहिलो आक्रमण कान्तिपुरमै हुनेछ भन्ने ठानी जयप्रकाश मल्लले अङ्ग्रेजहरूसंग सैनिक तथा हातहतियारको सहयोग मागे। राजा जयप्रकाश मल्ललाई सहयोग गर्न वि.स. १८२३ मा किनलकको नेतृत्वमा २४०० सैनिक पूर्वी नेपालको सिन्धुलीगढी हुँदै काठमाडौँतिर बढ्यो।
सरदार वंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले आधुनिक हतियारसहितको अङ्ग्रेज सेनामाथि आक्रमण सुरु ग-यो। एकातिर वंशीराज पाण्डे र वीरभद्र उपाध्याय नेतृत्वको ठुलो सङ्ख्याको गोर्खाली फौज, अर्कोतिर सरदार वंशु गुरुङ नेतृत्वको गोर्खाली फौजको आक्रमण। अङ्ग्रेज सेना चेपुवामा प-यो। अङ्ग्रेज सेनासँग बन्दुक धेरै भएकाले केहीबेर घमासान लडाइँ भयो। दुवैतिर केही सेना हताहत भए। तर, दुवैतिरबाट आक्रमणको चेपुवामा परेको अङ्ग्रेज फौज अन्ततः हतियार छाडेर जङ्गलैजङ्गल भागे।
अङ्ग्रेजको सहयोगको सम्भावना पनि सकिएपछि जयप्रकाश मल्लको अब कुनै बाटो रहेन।
कान्तिपुर गोर्खामा विलय
वि.स. १८२५ असोज १४ गते (इ. १७६८ सेप्टेम्बर २६) का राति पृथ्वीनारायण शाहले राजज्योतिष कुलानन्द ढकालको साइत अनुसार कान्तिपुरमा आक्रमण गरे। काजी वंशराज पाण्डे, तुलाराम पाण्डे, केहरसिंह बस्न्यातसाथ पृथ्वीनारायण शाहले १००० गोर्खाली तालिमे सिपाही लिएर कान्तिपुर किल्लाको ढोका फोरी एक दल नरदेवी तिरबाट, एक दल भीमसेनस्थान तिरबाट र तेश्रो दल टुँडिखेल तिरबाट हनुमानढोका तर्फ अघि बढे। राजा जयप्रकाश मल्ल खुसीसाथ इन्द्रजात्रा मनाइरहेको समयमा गोरखाली आक्रमण हुँदा हतप्रद भए। अत: ४ घण्टासम्म अव्यवस्थित युद्ध लडि ३०० अङ्गरक्षक साथ जयप्रकाश मल्ल तलेजुमा सेतो बारुद ओछ्याई पाटनतिर भागे। गोर्खाली सेना तलेजुमा प्रसन्नताका साथ विजयोन्मादमा प्रवेश गर्दा बारुद जल्दा तुलाराम पाण्डे केही सिपाही साथ पिल्सिएर मरे। उता पृथ्वीनारायण शाह कान्तिपुर राजदरबार हनुमानढोका राजगद्दीमा बसे।
पाटनमा शरण
जयप्रकाश मल्ल भागेर ललितपुर पुगी शरण लिए र छ प्रधानहरूसँग भेटी षड्यन्त्रपूर्वक आत्मसमर्पण गर्न नहुने बताए। तर पृथ्वीनारायण शाहले दस दिनपछि केहरसिंह बस्न्यातलाई ललितपुर हान्न पठाए। उनले पनि १४ दिनमा पूर्णत ललितपुरलाई गोरखामा मिलाइदिए।
भक्तपुरमा शरण
ललितपुर पनि गोरखाको अधिनमा परेको हुनाले राजा जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भक्तपुरका राजा रणजित मल्लकहाँ शरण लिन पुगे। उनीहरू पहिले भक्तपुर राज्यस्थिन दत्तात्रेयको मन्दिरमा पसे। राजा रणजित मल्लले टोलका सारा प्रजापञ्चहरूको भेला डाकी उनीहरूकै राय बमोजिम तिनीहरूलाई शरण दिएका थिए।
भक्तपुरको लडाइँ
पृथ्वीनारायणले भाइ शूरप्रताप र अर्का काजीको नेतृत्वमा भक्तपुर घेरा हाल्न सैन्यदल पठाएका थिए। वरिपरि सबै गाउँ अधीनमा पारेको एक वर्षमा पनि शहरको चालचुल केही नहुँदा राजा बन्न हतारिएका शूरप्रतापले दरबारै घेर्न आदेश दिए। दरबारमा दहसन हुँदा जयप्रकाश प्रतिकार गर्दै थिए।
सुरक्षाको लागि तलेजु मन्दिरको भर्याङ उक्लन खोज्दा कसैले चलाएको गोली देब्रे गोडामा लागेर जयप्रकाश ढले। उनै थिए त्यहाँ हाँक पारेर लड्ने। उनी ढलेपछि अरूले आत्मसमर्पण गर्नु सिवाय अरू उपाय रहेन। रणजित मल्लका अनुमतिले उनका अङ्गरक्षकले आफ्नो पगरी फुकालेर झयालबाट तल झुण्ड्याइदिए। तत्काल हानाहान बन्द भयो। शूरप्रताप शाहले माथि गएर मल्ल राजाहरूलाई घेरेर नियन्त्रणमा लिए। यसरी दुई हजार भन्दा बढी मानिसहरूको मृत्यु र पाँच सयभन्दा बढी घरहरू आगलागिमा ध्वस्त भएपछि वि.सं १८२६ मार्ग १ गते आइतबार कात्तिक शुक्ल चतुर्दशीका दिन भक्तपुरमा पृथ्वीनारायण शाहको अधिकार कायम भयो।
भक्तपुर कब्जापछि जयप्रकाश मल्लले राजकीय मर्यादा, रणजित मल्लले काशीवास र तेजनरसिंह मल्लले अभद्र व्यबहार गरेकाले कारावास भोग्नुपर्यो । बडो अनादर गरी तिनलाई भक्तपुरमा नै कैदमा राखे।
मृत्यु
ने.सं. ८९१ मार्ग वदि ७ रोज ६ मा उनको मृत्यु पशुपति आर्यघाटमा भयो। उनी भक्तपुरको युद्धमा घाइते भएका थिए।
भाषा वंशावलीमा जय प्रकाश मल्लको अन्त्यकालको विषयलाई लिएर यस्तो लेखिएको छ-
| “ |
जयप्रकाश मल्ललाई बेथा साह्रो हुँदा मार्गवदि ५ रोज ५ को दिन बिहानै श्रीपशुपति लैजाई राजा जयप्रकाश मल्ललाई श्रीमहाराज पृथ्वीनारायण शाहबाट क्या कुरा माग्छौ, दानपुण्य भन्या पनि म गराइदिउँला भनी हुकूम हुँदा जयप्रकाश मल्लले छाता जुत्ता मात्र मागी दान गरी नेपाली संवत् ८९१ मार्गवदि ७ रोज ६ का दिन आर्यघाटमा प्राणत्याग गरी श्रीपशुपति अघोरनाथमा मिल्न गया भनी भन्न लाग्या। |
„ |
उनको मृत्यु पछि उनको श्रद्धाको लागि सरकारी रकम दिइदै आएको छ।
कार्यहरू
- विश्वकै सबैभन्दा सानो मुद्रा यिनले प्रचलनमा ल्याएको "जावा" हो।
- स्वर्ण मुद्रा प्रयोगमा ल्याउने राजा हुन्।
- बालाजु पार्कका २१ धारा र गोकर्णेस्वरमा मन्दिर बनाएका थिए।
सन्दर्भ सामग्रीहरू
स्रोत र समीक्षाको अवस्था
स्रोत: सम्पादकीय लेख · विकिडाटा Q15955168
समीक्षा: समीक्षा बाँकी — यस लेखको कुनै समीक्षा-अभिलेख छैन।
संरचनागत सूचक ८१/१०० (प्रयोगात्मक; तथ्यको शुद्धताको सूचक होइन — विवरण)
नेपाली विश्वकोशको सम्पादकीय लेख। यो लेख नेपाली विश्वकोशका सम्पादकहरूले आफ्नै संरचना र भाषामा लेखेका हुन्; सम्पादक-मण्डलको समीक्षा क्रमशः जारी छ — त्रुटि भेटिए सम्पादन सुझाउनुहोस्। पाठ CC BY-SA 4.0 अन्तर्गत उपलब्ध छ।
यस लेखको तथ्यगत जग नेपाली भाषामा मुक्त ज्ञान रच्ने नेपाली विकिपिडियाका स्वयंसेवी लेखकहरूको दशकौँको साधनामा उभिएको छ — उहाँहरूप्रति हाम्रो कृतज्ञतापूर्ण श्रद्धाञ्जली।
यो लेख उद्धृत गर्नुहोस्
नेपाली विश्वकोशका सम्पादकहरू। “जयप्रकाश मल्ल।” नेपाली विश्वकोश, ९ नोभेम्बर २०२६, https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%AF%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B6_%E0%A4%AE%E0%A4%B2%E0%A5%8D%E0%A4%B2। हेरिएको: १२ नोभेम्बर २०२६।
Nepali Encyclopedia Editors. (2026). जयप्रकाश मल्ल. In Nepali Encyclopedia. Retrieved 2026-11-12, from https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%AF%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B6_%E0%A4%AE%E0%A4%B2%E0%A5%8D%E0%A4%B2
@misc{ne_440,
title = {जयप्रकाश मल्ल},
author = {{Nepali Encyclopedia Editors}},
howpublished = {\url{https://nepaliencyclopedia.com/nepali-encyclopedia/%E0%A4%9C%E0%A4%AF%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%95%E0%A4%BE%E0%A4%B6_%E0%A4%AE%E0%A4%B2%E0%A5%8D%E0%A4%B2}},
year = {2026},
note = {Accessed 2026-11-12}
}